|

अवधारणा, उद्देश्य/लक्ष्य, सेवाग्राही, दिगोपना
अवधारणा
सूचना तथा सञ्चार प्रविधिको पहुँचलाई व्यापक वनाउने माध्यमका रुपमा ग्रामीण क्षेत्रहरुमा विद्यमान गरिवी निवारण सम्वन्धी कार्यक्रमलाई ब्यापक र सशक्त रुपमा सञ्चालन गर्न एवं ग्रामीण समुदायहरुको क्षमता बृद्धि गर्न सूचना प्रविधिको महत्वलाई महशुस गरि यी ग्रामीण समुदायहरुलाई सूचना तथा सञ्चार प्रविधिको प्रयोगद्वारा सूचना स्रोतमा पहुँच पुर्याउन तथा विकास क्रियाकलापहरु सञ्चालनमा प्रभावकारीता ल्याउन समेत ग्रामीण सूचना केन्द्रहरुको स्थापना गर्नुपर्ने महशुस भई नेपालले यो अवधारणा लिएको हो । नेपालले लिएको ग्रामीण सूचना केन्द्रहरुको स्थापना सम्वन्धी अवधारणालाई सूचना प्रविधि उच्चस्तरीय आयोग र राष्ट्रिय सूचना प्रविधि केन्द्रले आत्मसाथ गर्दै उक्त कार्यलाई निरन्तरता दिइरहेका छन् ।
उद्देश्य/लक्ष्य:-
दशौं पन्चवर्षिय योजनाभरीमा करिब २५०० को हाराहारीमा यस्ता सूचना केन्द्रको स्थापना गर्ने लक्ष्य राखिएको छ । तथापि विद्यमान जारी रहेको आन्तरिक द्वन्द, असहज परिस्थिति एवं आवश्यक बजेटको कमिले गर्दा सूचना केन्द्रको स्थापना संख्यात्मक रुपमा कमि आएको भएता पनि सूचना केन्द्रहरुको स्थापनाले निरन्तरता पाइरहेकोछ । यस्ता केन्द्रहरुले विशेषतः निम्न क्षेत्रहरुमा अपेक्षित उपलव्धी हासिल गर्न उपयोगी सूचना उपलब्ध गराउने लक्ष्य राखिएकोछ :-
Ø कृषि सूचना,
Ø दूर-शिक्षा,
Ø दूर-स्वास्थ्यसेवा,
Ø उत्पादनशील आर्थिक कृयाकलाप,
Ø वाताबरण संरक्षण,
Ø प्राकृतिक प्रकोप न्यूनिकरण र
Ø पर्यटन सम्वन्धी सूचनाहरु
सेवाग्राही:-
ग्रामीण सूचना केन्द्र भन्ने वित्तिकै ग्रामीण भेग तथा उप-शहरमा बस्ने जो कोहिको सजिलो पहुँच भएको स्थानमा स्थापित सूचना केन्द्र भन्ने बुझिन्छ । त्यसकारण यस्ता सूचना केन्द्रहरुवाट दिइने सेवाहरुको उपयोगकर्ता मुख्यतः ग्रामीण क्षेत्र तथा उप-शहरका समुदायहरु, संगठित संस्थाहरु, विद्यालय तथा स्थानिय निकायहरु र पर्यटकिय क्षेत्रहरुमा पर्यटकहरु हुन्छन् ।
दिगोपना:-
ग्रामीण सूचना केन्द्रलाई सामाजिक र आर्थिक दृष्टिकोणले दिगो हुने गरी व्यवसायिक ढंगले सञ्चालन गर्नुपर्दछ। यस्ता सूचना केन्द्रले समुदायलाई आबश्यक सूचनाहरु निःशुल्क प्रवाह गरेपनि, अन्य सेवाहरु व्यवसायिक हिसाबबाट शुल्क लिएर मात्र प्रदान गर्नु पर्दछ। ग्रामीण सूचना केन्द्रलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन, आर्जित आयबाट सञ्चालन खर्चहरु धान्नुको साथै क्षमता विस्तार पनि गर्दै जाने रणनीति कायम गर्न आवश्यक हुनेछ ।
|